Blog Details

नेपालको पहिलो नर्स

Shisir Kumar Adhikari 2023-01-04 20:41:32 850 1
नेपालको पहिलो नर्स को हो भन्ने विवाद चलिरहेकै बेला नेपाल सरकारको (माननीय मन्त्रीस्तर) मिति २०७३ माघ ७ गतेको निर्णयबमोजिम स्वास्थ्य मन्त्रालयले मिति २०७४ बैशाख १६ गते आधिकारिक रुपमा स्वर्गीय लामू अमात्यलाई नेपालको पहिलो नर्स भएको घोषणा गर्दै प्रमाणपत्र दिएको थियो । स्वर्गीय अमात्यका छोरा गायक योगेश्वर अमात्यले एक कार्यक्रमबीच प्रमाणपत्र बुझ्नु भएको थियोे । तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले पहिलो नर्सको आधिकारिक प्रमाणपत्र अमात्यलाई दिनु भएको थियोे । विक्रम संवत् १९८८ माघ १४ गते जन्मिएकी लामूको २०६९ जेठ १९ गते निधन भएको थियो।

उहाँले २०१२ साल फागुन ३० गतेदेखि नेपालमा नर्सका रुपमा सेवा दिन थाल्नु भएको थियो । स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट नर्स अमात्यले काम काम सुरु गर्नु भएको थियो । उहाँले भारतबाट २०११ साल साउनमा नर्सिङ कोर्स पूरा भएको थियो । यसअघि नर्स उमादेवी दासले पनि आफू नेपालको पहिलो नर्स भएको दाबी गर्नु भएको थियो ।

नेपालको  पहिलो नर्स अमात्य बिरामीसँग प्रेममा परेर नेपाल आउनु भएको थियो 

लामू अमात्यलाई नेपाल सरकारले ‘पहिलो नेपाली नर्स’ घोषणा गरेको छ। जो नेपालीसँग विवाह गरेर नेपाली नागरिक बन्नु भएको थियो । भारतको दार्जीलिङमा विक्रम संवत् १९८८ माघ १४ गते जन्मिएकी उहाँ कलकत्तामा हुर्कनु भएको थियो ।

उहाँ नेपाल आउनुसँग एउटो संयोग छ। त्यो हो आफू नर्सिङ पढिरहेकै मेडिकल कलेजको अस्पतालमा उपचाररत बिरामी काठमाडौँका रैथाने भुवनेश्वर अमात्यको प्रेममा पर्नु। भुवनेश्वर अमात्य पनि त्यो बेला कलकत्तामै पढ्नुहुन्थ्यो। सोही बेला भुवनेश्वरको खुट्टामा समस्या आयो। उहाँ उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना हुनु भयो ।

त्यहीँ नर्सिङ पढिरहेकी लामूसँग भुवनेश्वर सुरुमा एकोहोरो प्रेममा पर्नुभयो। उहाँ प्रेममा पर्नुको कारण लामूको कत्थक नृत्य हो। मेडिकल कलेजको सांस्कृतिक कार्यक्रममा नर्स लामूले कत्थक नाँच देखाउनु भएको थियो । अस्पतालमै उपचाररत भुवनेश्वर नाच हेर्न पुग्नु भएको थियो। भुवनेश्वरलाई लामूको नृत्य र सौन्दर्यले त्यतिबेलै आकर्षित गर्‍यो। त्यस्तै ३ देखि ४ हप्ता जति अस्पताल भर्ना हुनु भएका भुवनेश्वरलाई रेखदेख गर्न सिकारु नर्सका रुपमा लामू आइरहनुहुन्थ्यो । उहाँहरुको भेटघाट भइरह्यो। यही क्रममा कुराकानी भयो, माया मौलाउँदै गयो। भुवनेश्वर र लामूका कान्छो छोरा चर्चित गायक योगेश्वर अमात्यले भन्नुभयो ‘आमाको नृत्य र रुप देखेपछि बुवा पग्लिनुभएको होला। आमा नेपाली भाषी नै भएकाले कुराकानी, भेटघाट गर्न सजिलो भएछ र अस्पताल बसाइकै क्रममा प्रेम पनि बसेछ।’

नर्सिङ नसकिँदै सन् १९५३ मा भुवनेश्वरसँग विवाह गरेर लामू नेपाल आउनुभयो। सन् १९५४ मा स्टाफ नर्सको पढाइ सकिएपछि नेपाली नागरिकता लिएर नेपालमै सेवा गर्ने उद्देश्यले उहाँले कलकत्ता छोड्नुभएको थियो ।

आमाले नेपालकै पहिलो नर्सिङ स्कुल काठमाडौँको क्षेत्रपाटीमा खोलेको छोरा योगेश्वरले बताउनु भयो र भन्नुभयो, ‘राजा महेन्द्रको अनुरोधमा उहाँले नर्सिङ स्कुल खोल्नुभएको थियो।’

लामूले २०१२ साल फागुन ३० गतेदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गर्न थाल्नु भएको थियो। नेपालमै मिडवाइफ्रीको तालिम दिने तीन वर्षे परियोजनाका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट एकजना नर्स मिस रोज नेपाल आउनु भएको थियो। उहाँलाई साथ दिन लामूलाई सरकारी सेवामा राखिएको थियो।

यसरी नेपालमा काम गर्ने र नेपाली नागरिकका रुपमा उहाँ पहिलो नर्स हुनुभयो। तर, उहाँ नेपाली नागरिकको सन्तान भने होइन। त्यसैले नेपालीकै सन्ततिलाई पहिलो नर्स ठान्नुपर्ने विवाद उठेको थियो। नेपालीकी सन्तानका रुपमा पहिलो नर्स भने उमादेवी दास हुनुहुन्छ।

मन्त्रालय स्रोत भन्छ, ‘बुहारी र छोरीका कुरा भावनात्मक हुन्। सरकारले हेर्दा नेपाली नागरिकका रुपमा हेर्ने गर्छ। नेपालीसँग विवाह गरेर नेपाली नागरिकता हासिल गरेकाले पहिलो नेपाली नर्सको उपमा सरकारले लामूलाई दिएको हो।’

२०६९ साल जेठ १९ गते लामूको निधन भयो। ८३ वर्षको उमेरमा निधन भएकी लामूलाई अन्तिमका केही वर्ष अल्जाइमर्स भयो। योगेश्वर भन्नुहुनछ, ‘अल्जाइमर्स भएको समयमा मान्छेको अनुहार पनि चिन्नु हुन्थेन तर नर्सलाई पढाउन जानुपर्छ भनिरहनु हुन्थ्यो।’ यो कुराले योगेश्वरलाई आमाले नर्सिङ क्षेत्रमा पु¥याएको योगदानको कुनै न कुनै रुपमा कदर भइदियोस् भन्ने लागेको थियो। उहाँ आफू पनि केही गर्ने मनसायमा हुनुहन्थ्यो तर त्यही बेला ‘पहिलो नेपाली नर्स को हो ?’ भन्ने  विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्ट धारणा दिन सकेन।

त्यसपछि योगेश्वर सम्पूर्ण प्रमाण जुटाउन लाग्नु भयो। प्रमाण जुटाएर पटक–पटक स्वास्थ्य मन्त्रालयको दैलोमा पुगेर उहाँले ‘पहिलो नेपाली नर्स को हो ?’ भन्ने प्रश्नको जफाव माग्नु भयो। तर, यसअघिका कुनै पनि मन्त्री वा स्वास्थ्य मन्त्रालयका अधिकारीले उहाँको कुरा सुनिदिएनन्। उहाँ भन्नुहुन्छ, ‘गगन थापा मन्त्री हुनुभएपछि एकपल्ट फेरि गएँ। उहाँले जो भए पनि छानविन गरेर क्लिएर गर्न निर्देशन दिनुभयो। त्यसैको परिणाम आज आमाले न्याय र सम्मान पाउनु भएको छ।’


स्वास्थ्यखबर पत्रिकामा उल्लेख गरेअनुसार स्वास्थ्य मन्त्रालयमा पहिलो नेपाली नर्सको घोषणा कार्यक्रमपछि स्वास्थ्यखबरसँग कुरा गर्दै योगेश्वरले आमाका नाममा केही गर्ने इच्छा प्रकट प्रकट गर्दै उहाँले भन्नु भयो  "गरिब परिवारका छोरीलाई नर्सिङ पढ्दा छात्रवृत्ति स्वरुप केही रकम सहयोग गर्न पाए हुन्थ्यो कि ? तपाईंहरुले सुझाव दिनु न, कसरी र कसलाई दिँदा राम्रो हुन्छ ?’ सातै प्रदेशका एक–एक जनालाई नर्सिङ पढ्न वर्षेनी एक लाख रुपैयाँ सहयोग गर्ने उहाँको योजना रहेको बताउनु भएको थियो ।

स्वास्थ्य खबर पत्रिकाको आलेखमा आधारित रही शिसिर कुमार अधिकारी ज्यूले यो सामग्री तयार पार्नु भएको हो ।

Leave Your Comment

3 Comments
Rajkumarioli
2023-03-03 12:57:56
Thanks for sharing this information
Rajkumarioli
2023-03-03 12:57:02
Thanks for sharing this information
Anomyous
2023-01-27 14:30:04
Nice Post